युरोप र अमेरिकामा उष्णलहरको चेतावनी, दक्षिण कोरियामा बाढी र पहिरो

काठमाडौं । दक्षिणी युरोपमा अत्यधिक तापक्रम बढेसँगै इटलीका १६ सहरहरूमा चेतावनीको सूचना जारी गरिएको छ। युरोपेली देशहरूसँगै अमेरिका, चीन, उत्तर अफ्रिका र जापानमा पनि उष्णलहर देखा परेको छ।

स्वस्थ मानिसहरूलाई पनि जोखिम पुर्‍याउनसक्ने तहमा उच्च तापक्रम बढ्नसक्ने भन्दै इटलीका पर्यटकीय सहरहरू रोम, फ्लोरेन्स र बोलोन्यामा सावधानी अपनाउन भनिएको छ।

अर्को उष्णलहर युरोपतर्फ अघि बढेसँगै आगामी साता यो क्षेत्रको तापक्रम उच्च हुने ठानिएको छ।

भूउपग्रहबाट जमिन र समुद्रको तापक्रम निगरानी गर्दै आएको युरोपियन स्पेस एजेन्सीले इटली, स्पेन, फ्रान्स, जर्मनी र पोल्यान्डमा अत्यधिक गर्मी हुने जनाएको छ।

युरोपको मध्य भागमा रहेका जर्मनी र पोल्यान्ड लगायतका देशहरूमा पनि अत्यधिक तापक्रम पुगेको छ।

एक तिहाइ अमेरिकीलाई सजग रहन सुझाव
अमेरिकामा पनि अत्यधिक तापक्रम सहितको उष्णलहरको पूर्वानुमान गरिएको छ र दक्षिणपूर्वी क्षेत्रमा चेतावनीहरू जारी गरिएको छ।

शुक्रवार जारी गरिएको तापक्रम सावधानी सम्बन्धी सूचनाले अमेरिकाको फ्लोरिडा, टेक्सस, क्यालिफोर्निया देखि वासिङ्टनसम्मका ११ करोड मानिसहरूलाई प्रभावित गरेको थियो।

मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ।

आगामी दिनमा करिब २ करोड ७० लाख मानिसहरूले ४३ डिग्री सेल्सियस भन्दा बढीको तापक्रम सामना गर्ने पूर्वानुमान गरिएको छ।

निश्चित समयमा अधिक गर्मी हुने मौसमको प्राकृतिक प्रणाली भए पनि विश्वव्यापी तापमान वृद्धिका कारण संसारभर यस्तो अवस्था छिटो छिटो, अत्यधिक र लामो समयसम्म रहने गरेको छ।

शनिवारको उष्णलहर पुगेको क्षेत्रका मानिसहरूलाई बिहान ११ बजेबाट साँझ छ बजेसम्म प्रत्यक्ष घामको प्रकाशमा नपर्ने इटलीको सरकारले सुझाव दिएको छ।

त्यहाँको सरकारले ज्येष्ठ नागरिक र स्वास्थ्यको जोखिममा रहेका मानिसहरूलाई विशेष हेरचाह पुर्‍याउन पनि भनेको छ।

उष्णलहरसँगै डढेलोको चिन्ता
ग्रिसमा पछिल्ला दिनहरूमा तापक्रम बढेर ४० डिग्री सेल्सियस माथि पुगेको छ। भ्रमणमा आउनेहरूलाई उच्च तापक्रमबाट जोगाउन ग्रिसको सबैभन्दा लोकप्रिय पर्यटकीय केन्द्र एक्रोपोलिस शुक्रवार अत्यधिक तापक्रम हुने समयमा बन्द गरिएको थियो।

यो ठाउँ एउटा ठूलो चट्टान माथि अवस्थित छ र वरपरका क्षेत्र भन्दा यहाँ सामान्यतया तापक्रम बढी हुने गर्छ।

तापक्रम बढेसँगै तीव्र हावा बहने बनजङ्गल क्षेत्रमा डढेलो फैलनसक्ने चिन्ता सुरू भएका छन्। ग्रिसमा सन् २०२१ मा असाधारण उष्णलहर चलेकै समयमा ठूलो डढेलो फैलिएको थियो।

चेक रिपब्लिकको मौसम कार्यालयले पनि सप्ताहान्तमा तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुग्नसक्ने चेतावनी जारी गरेको छ। यस्तो गर्मी चेक रिपब्लिकका लागि निकै असाधारण हो।

यद्यपि यूकेमा भने ठूलो वर्षा र आँधी सहितको हावा चल्ने पूर्वानुमान छ।

मौसम निम्त्याउने जेट स्ट्रीम दक्षिणतर्फ सरेका कारण युरोपका धेरै क्षेत्रमा गर्मी बढ्ने तर यूकेमा शीतल हावा बहने आकलन गरिएको छ।

पानी पिउन, कफी र मदिरा नपिउन सुझाव

युरोपको अहिलेको उष्णलहरलाई इटलीको मेट्रोलोजिकल सोसाइटीले सर्बरस नाम दिएको छ। चारुन नाम दिइएको अर्को उष्णलहरले आगामी साता त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस पुर्‍याउने आकलन गरिएको छ।

उष्णलहर प्रभावित क्षेत्रहरूमा मानिसहरूलाई कम्तीमा दुई लिटर पानी पिउन भनिएको छ शरीरमा निर्जलीकरण निम्त्याउनसक्ने कफी र मदिरा नपिउन भनिएको छ।

युरोपको मौसम निगरानी सेवाले यो वर्षको जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम पुगेको जनाएको छ।

युरोपमा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम सन् २०२१ को अगस्टमा सिसिलीमा ४८.८ डिग्री सेल्सियस मापन भएको थियो।

विश्व मौसमविज्ञान सङ्गठनले बढ्दो तापक्रमका कारण चरम मौसम “दुर्भाग्यवश रुसमा सामान्यजस्तै बनेको” जनाएको छ।

दक्षिण कोरियामा बाढी, कैयौँको मृत्यु

दक्षिण कोरियामा केही दिनयता निरन्तर भइरहेको भीषण वर्षाका कारण निम्तिएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको छ।

वर्षाका कारण सडकहरू जलमग्न हुनुका साथै कतिपय स्थानमा रेल सेवा पनि अवरुद्ध भएका छन्।

बाढी र पहिरोमा परेर अझै १० जना बेपत्ता रहेको र हजारौँ आफ्नो घर छोड्न बाध्य भएको अधिकारीहरूले बताएका छन्।

देशको मध्य उत्तरी क्षेत्रमा वर्षाले निम्त्याएको पहिरोका कारण बाँधबाट पानी बाहिर गएको र त्यसले तल्लो भेटका तटीय बस्तीहरूमा जोखिम निम्त्याएको विवरण आएका छन्।

कोरियाको मौसम पूर्वानुमान कार्यालयले आगामी साताको बुधवारसम्म वर्षा जारी रहने बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *