राप्रपाको एक मतले सुदूरपश्चिमको बजेट पास, सांसद विकास कोषमा अब पाँच करोड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास भएको छ । शनिबार मध्यराति सुदूरपश्चिम प्रदेश सभाले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि प्रस्तुत बजेट बहुमतले पारित गरेको हो ।

शनिबार अपराह्न ५ बजे नै एमाले सांसदहरू संसद् छाडेर हिँडेपछि बजेट पास नहुने अनुमान गरिएको थियो । प्रतिपक्ष दलबिना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि सत्तारुढ दलका नेता र मन्त्रीले राप्रपाकी एक मात्र सांसद खेमादेवी विष्टलाई बाटोबाटै फर्काएर प्रदेशसभामा उपस्थित गराई बजेट पास गरेका हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहसहित दलका नेताहरूले राप्रपा सांसद विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने सहमति गरेर बैठकमा उपस्थित गराइएको हो । लेखा समिति सभापति विपक्षीले पाउने प्रचलन छ ।

बजेटको पक्षमा ३९ र विपक्षमा राप्रपाको एक मत मात्रै परेको थियो । पक्षमा कांग्रेसका १८, माओवादीका १०, नागरिक उन्मक्तिका सात र एकीकृत समाजवादीका चारजनाले मतदान गरेका थिए । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको निधन भएको थियो ।

यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष अर्थात् प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएपछि मात्रै बजेट पास गर्न सत्ता पक्षीय सांसद सहमत भएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *