‘जान्नेलाई छान्ने’ भन्दै भोट बटुलेका रवि लामिछाने र राजेन्द्र लिङ्देन अझै आलाकाँचो

काठमाडौं । मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘जान्नेलाई छान्ने’ भन्दै एउटा नारा अघि ल्यायो । सामाजिक सञ्जालमा त्यो नारा निकै चर्चित पनि बन्यो । सोझासिधा जनता रास्वपाको त्यही नारामा आकर्षित भएर भोट पनि दिए । जसकारण रास्वपाले सोच्दै नसोचेको सफलता हासिल ग¥यो ।

सञ्चार क्षेत्रमा लामो समय बिताएर राजनीतिमा हामफालेका रवि लामिछानेले जनता कस्ता नारा र लोकरिझ्याइँप्रति विश्वास गर्छन् भन्ने नाडी छामेका थिए । त्यही भएर उनले जान्नेलाई छान्ने नारा अघि सारेका थिए । रास्वपाले जस्तै राप्रपाले पनि आफूलाई आधुनिक राप्रपा भन्दै जनतामा भ्रम पैदा गर्न सफल भयो । राजेन्द्र लिङ्देनलाई हेरेर राप्रपालाई भोट दिने धेरै देखिए ।

तर, अहिले यिनै रवि लामिछाने र राजेन्द्र लिङ्देनको पार्टीले संसदमा गाईजात्रा देखाएपछि जनताले लाजले भुतुक्क भएका छन् । जान्नेलाई छान्ने भनेर पठाएका रास्वपा र राप्रपाका सांसदले संसदीय काम कारबाही र प्रक्रिया नै नबुझी संसदको वेल घेराउ गरेको र आफूले किन विरोध गरेको हो भन्ने प्रस्टीकरण दिन नसकेपछि लाजले पानीपानी भएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक २०८० पेश गर्ने कार्यसूची थियो। उक्त विधेयकमार्फत् सरकारले झन्डै ८० वटा कानुनमा एकसाथ संशोधनको तयारी गरिरहेको छ। अदालतमा विचाराधीन मुद्दा सरकारले फिर्ता लिन सक्ने प्रावधानमा धेरै सांसदहरूको विरोध छ।

कुनै पनि राजनीतिक समूहले सरकारसँग वार्ता गरेपछि शान्तिपूर्ण राजनीतिमा आउन चाहे सरकारले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सक्ने प्रावधान समेटेर सरकारले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक ल्याएको हो। उक्त विधेयकको प्रावधानमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोधको सूचना दिएका थिए।

अर्थात् उनीहरूले यस्तो विधेयक प्रतिनिधिसभामा पेससमेत हुनु हुँदैन भन्ने प्रस्ताव राखेका थिए। सरकारले ल्याएको उक्त विधेयकको प्रस्तुतकर्ता कानुन मन्त्रालय हो। यसरी विरोधको सूचना दर्ता भएपछि विधेयक दर्ता गराउने मन्त्रीले भन्दा पनि पहिला विरोधको सूचना दिने सांसदले संसदमा बोल्न पाउँछन्।

बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेस गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद अवरोध गरे । तर सभामुख घिमिरेले भने संसदमा सो विधेयक पेस गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएका छन् । त्यसपछि रास्वपा र राप्रपाका सांसदको बोल्ती बन्द भएको थियो । संसदमा लामो समय बिताइसकेका सांसदहरूले लाजले भुतुक्कै भएका थिए ।

त्यसपछि आइतबार सामाजिक सञ्जालमा जान्नेलाई छान्ने भन्ने नारा दिएर भोट बटुलेकाहरूको हैसियत पनि देखियो भन्दै रवि लामिछानेसहितका सांसदहरूको आलोचना हुन थालेको छ । धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले रास्वपा र राप्रपाका सांसदले पहिले संसदीय प्रक्रियाका विषयमा कक्षा लिनुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *