काँग्रेस केन्द्रीय सदस्यलाई वर्षको एक महिनामात्र छुट्टी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यले वर्षको एक महिनामात्र बिदा पाउने भएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठकमा कार्यक्रमको प्रस्तावित वार्षिक खाका सार्वजनिक बोल्दै महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् ।
उनले वर्षको एक महिना केन्द्रीय सदस्यले बिदा पाउने र बाँकी समय केन्द्रीय सदस्यहरु कुनै न कुनै काममा व्यस्त रहने गरी खटिने बताएका छन् ।
काँग्रेसलाई चलायमान गर्ने क्रममा केन्द्रीय सदस्यहरु स्थानीय तहदेखि केन्द्रमा रहेर जिम्मेवारी बहन गर्ने छन् ।
लामो समयपछि केन्द्रीय सुमिति बैठक बस्दा पनि केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन् ।
त्यस्तै ४८ विभागहरु भएकामा २२ वटा विभाग थप प्रस्तावित गरिएकामा तिनीहरुलाई समेत चलायमान गरेर सबैलाई सशक्त भएर वर्षैभर ब्यस्त रहने कार्यक्रम महामन्त्री थापाले सार्वजनिक गरेका हुन् ।
विभागमा कम्तीमा पनि एक तिहाइ महिला हुनुपर्ने र कम्तीमा १५ प्रतिशत युवा र २० प्रतिशत विज्ञ हुनुपर्ने पनि नियम बनाइएको छ ।
नेता थापाले एक वर्षको क्यालेन्डर सुनाउने क्रममा केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् ।