‘भेप’सुन तस्करीमा संलग्न ५ जनालाई थुनामा राख्न आदेश
काठमाडौं । भेपको प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरीमा संलग्न रहि विक्रिवितरणमा संलग्न पाँच जनालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले अहिले हिरासतमा भएका ६ जना प्रतिवादीमध्ये ५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाई अदालतमा पेस गरेका ६ जनामध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सुचना अधिकारी दिपक दाहालले जानकारी दिए । न्यायाधीश ढकालले सुन चोरी र विक्री वितरणमा संलग्न नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल तथा साहेब राव पाण्डुरङ मरगलेलाई थुनामा पठाउने आदेश दिएका हुन् ।
सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादीका रुपमा ठहर भएका अमृत कार्कीलाईचाँही साधारण तारेखमा छोडेको छ ।
गत २०७९ पुस १० गते फ्लाई दुबईबाट उडान नम्बर एफजेड–०५८७ मा नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठुलो मात्रामा सुन तस्करी गरी ल्याएका थिए ।