स्थानीय निर्वाचनलगत्तै ओलीले थाहा पाएका थिए पार्टी सदस्यता घट्दै गएको तथ्य

काठमाडौं । एमालेमा अहिले ५० प्रतिशतले पनि सदस्यता नवीकरण नगरेको विषयले ठूलो तरंग सिर्जना गरेको छ । हालै सम्पन्न सचिवालय बैठकमा प्रदेश इन्चार्जहरूले पार्टी सदस्यताबारे यथार्थ विवरण ब्रिफिङ गरेपछि हलचल नै मच्चिएको छ ।

एक वर्षअघि सम्पन्न स्थानीय निर्वाचनलगत्तै पार्टीको एक भेलामा एमाले अध्यक्ष केपी ओलीले आफूलाई प्राप्त रिपोर्ट उल्लेख गरेका थिए । त्यसबेला उनले कटाक्ष गर्दै भनेका थिए–‘पार्टीको वडा कमिटीको संख्या ४१ भए पनि एमालेका उम्मेदवारले २५ भोट मात्र ल्याएका छन् । यसरी कसरी चल्छ पार्टी ?’ ओलीले त्यसबेलादेखि नै एमालेको प्रदेशगत सदस्यता संकलन गर्न निर्देशन दिएका थिए ।

एमालेका नेता विष्णु रिजालले आफ्नो पार्टी अलोकप्रिय भएको र सदस्य घटेको भन्ने प्रचार भ्रमपूर्ण भएको दाबी गरेका छन् । ‘हामी नेकपामा हुँदा माओवादीले एकै घरका पाँच सातजना देखाएर अनावश्यक रुपमा पार्टी सदस्य बढाएपछि हाम्रा साथीहरुले पनि बढाएको देखियो ।

त्यो वास्तविक संख्या थिएन । त्यसयता कोही विदेश, कोही निष्क्रिय र कोही निधन भएकाले अद्यावधिक गर्दा केही घटेको अवश्य हो । जस्तोः दसौं महाधिवेशनमा कर्णाली प्रदेशमा ६२ हजार पार्टी सदस्यता थियो, अहिले ४७ हजार कायम भएको छ । देशभरिमा यस्तै यस्तै होला । हामी संख्या र होहल्ला होइन, अनुशासित र बलियो पार्टी चाहन्छौं,’ मंगलबार नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ता दिँदै उनले भने ।

रिजालका अनुसार एमालेको सदस्यता संख्या घट्नुमा पार्टी विभाजन पनि मुख्य रहेको छ । माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेपछि धेरै त्यता लागेको देखिएको छ । एकीकृत समाजवादीले तीन लाख सदस्यता रहेको दाबी गर्दै आएको छ ।

हिजो एकीकृत समाजवादी गठन हुँदा एमाले महासचिव शंकर पोखरेलले एमालेलाई १ं.५ प्रतिशत पनि असर नगरेको दाबी गरेका थिए । तर अहिले सदस्यता संख्या ह्वात्तै कम हुनुले पार्टी विभाजनले असर गरेको पुष्टि भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *