सुन प्रकरणमा थप दुई पक्राउ


काठमाण्डौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। विभाग स्रोतका अनुसार पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको स्रोतले जानकारी दियो। कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो।

यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो। मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक जहाजमा ल्याइएको ुब्रेक शुु मा सुन फेला परेको थियो। अन्दाजी ८० देखि १०० किलोसम्म सुन हुनसक्ने आशंका गरिएको छ। सुनको परिमाण यकिन गर्न विभागले राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको छ। विभागले यो प्रकरणमा अहिलेसम्म ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरेको छ। उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागले उच्च अदालत पाटनसँग अनुमति लिएको छ। चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अहिलेसम्म उनी नै यस प्रकरणका मुख्य भूमिकामा देखिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *