हिमालयन बैंकबाट ४ जना संस्थापक बाहिरिँदै
काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले साढे ७ लाख कित्ता सेयर बेच्न लागेका हुन् ।
बैंकले संस्थापक मंडला इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको १ हजार २ सय ८६ कित्ता, अमिर श्रेष्ठको २ लाख ४ सय ९२ कित्ता, बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २ सय २५ कित्ता र राजनकृष्ण श्रेष्ठको २३ हजार ६ सय ७७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।