घर रङरोगन गर्ने श्रमिकसँग सीप छ, प्रमाणपत्र छैन

काठमाडौं । कैलालीको टीकापुरमा करिब ८० जना घरमा रङरोगन गर्ने श्रमिक छन् । उनीहरूले सधैँभरि काम भने पाउँदैनन् । यसरी काम गर्ने कामदार आफैँले सिकेको सीपले टीकापुरका घर सजाउने गरेका छन् । उनीहरुलाई ‘सिजन’मा काम पाउँदा रङरोगन कार्यबाट राम्रै कमाइ हुन्छ, काम नपाउँदा भने समस्या हुन्छ ।

कैलालीमा पक्की घर पेन्टिङ (लिपपोत) गर्ने काम गर्ने श्रमिकलाई ‘सिजन’मा भ्याइनभ्याइ हुन्छ । घर तथा झ्यालढोका रङरोगन गर्ने महिनाभरि काम पाएमा रु ३० हजारसम्म कमाइ गर्छन् । पेन्टिङ गर्नेले दशैँ–तिहार तथा चाडपर्वका समयमा बढी काम पाउँछन् । पाँच वर्षदेखि यो पेसा गरिहेका देवेन्द्र चौधरी नियमित काम पाएमा राम्रै कमाइ हुने गरेको बताए । “सिजनमा धेरै कामको चाप हुन्छ । बिहानदेखि रातिसम्म काम गर्छौँ, कहिलेकाहीँ ठेक्कामा काम पाइन्छ भने कहिले दैनिक ज्यालादारीमा गर्छौँ”, उनी भन्छन , “बर्खाको समयमा भने काम पाइँदैन, यो समयमा खेतीपाती गर्छौँ, अन्य दैनिक ज्यालादारीको काम गर्छौँ ।”

उनले दैनिक ज्यालादारीमा काम गर्दा रु आठ सयदेखि एक हजारसम्म लिन्छन। घरमा तथा झ्यालढोकामा रङ लगाउने काम गर्छन। श्रमिक चौधरीले यो सीप आफ्नै मेहनतले सिकेका हुन । “बेरोजगार भएकाले साथीहरूको सङ्गतले यो सीप सिकेको हुँ, पहिला–पहिला रु तीन सयदेखि पाँच सयसम्म कमाइ हुन्थ्यो”, उनी भन्छन , “अचेल राम्रो सीप सिकेकाले कमाइ पनि ठीकै हुन्छ ।”

उनीसंग सीप भए पनि प्रमाणपत्र छैन । सरकारी कार्यालय तथा अन्य सङ्घसंस्थामा काम गर्नुपर्दा सीप सिकेको काजगात माग्छन् । त्यो बेलामा उनलाई समस्या पर्छ । “मसँग सीप छ तर सीप सिकेको प्रमाणपत्र छैन”, उनले भने , “पालिकाले तालिम गरेर प्रमाणपत्र उपलब्ध गराइदिएको भए हुन्थ्यो । हामीजस्ता काम गर्ने मानिस पनि थोरै छौँ, इच्छा भएकाहरूले सिक्न पनि पाउँथे ।”

यसरी काम गर्नेलाई घामपानीको भने समस्या हुन्छ । साथै छालामा रङ लाग्ने भएकाले पनि समस्या हुन्छ । दैनिक सरसफाइ गर्नुपर्ने, आँखा जोगाउनुपर्ने हुन्छ । कैलालीका प्रकाश चौधरी पनि घर रङरोगन गर्ने काम गर्छन। साथीबाटै सीप सिकेका प्रकाशको घर पनि यही कामबाट चलेको छ । बेरोजगार बस्नुभन्दा स्वदेशमै केही गरौँ भनी उनले पनि घरमा रङ लगाउने काम थालेका हुन । “सीप सिकेर विदेश जानुपरेको छैन, जीवन गुजारा चलेको छ”, उनी भन्छन , “रङ लगाउने काममा जोखिम पनि छ । सिँढी, बेल्टलगायतका सुरक्षा सामग्री चाहिन्छ, यस्ता सामग्रीमा सरकारको सहयोग भएको भए हुन्थ्यो ।”

यसरी रङ लगाउने काम गर्दा स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ । कैलालीका समशेर बडायकले रङरोगन गर्दा ध्यान नदिँदा आँखामा समस्या भएको छ । “तीन तलाको घर थियो, रङ लगाउँदै गर्दा आँखामा खस्यो”, उनले भने , “पछि एक महिनासम्म काम गर्न सकिएन, काम गर्दा सावधानी अपनाउनुपर्छ ।”

टीकापुरमा ७० देखि ८० जनासम्म यसरी घरमा रङरोगन लगाउने सीप भएका मानिस रहेको बताइन्छ । यसरी रङ लगाउने सीप भएकाले पनि आफ्नै बलबुताले सीप सिकेका हुन् । व्यावसायिकरूपमा तालिम लिएर सीप सिकेका निकै कम छन् । यसरी रङ लगाउने काम गर्नेलाई पनि वर्षैभरि कामको अभाव छ । उनीहरूले ठेकेदार र व्यापारीको सम्पर्कबाट काम गरिरहेको अवस्था रहेको ठेकेदार सुकदेव दास बताए । “मानिसले लाखौँ खर्चिएर घर बनाउँछ । घरमा रङमा समेत हजारौँदेखि लाखौँसम्म खर्च गर्छ”, दास भन्छन, “यसरी लगाइने रङ गुणस्तरीय हुनुपर्छ । रङ लगाउनेलाई रङको गुणस्तरबारे समेत जानकारी हुनुपर्छ ।”

यसरी काम गरिरहेकाको सीप विकासका लागि स्थानीय सरकारले तालिम दिने, तालिम लिएका दक्ष कामदारले मात्र काम गर्ने वातावरण बनाउन आवश्यक रहेको घरधनीहरूको माग छ । “हामीले जीवनभरिको कमाइ घरमा लगाउँछौँ”, स्थानीय योजना अधिकारीले भने , “हामीलाई रङको गुणस्तर पनि थाहा हुँदैन, पेन्टिङको काम गर्नेहरू यस्ता कुरामा जानकार हुनुपर्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *