नेकपा (एस)को सचिवालय बैठक सकियो,महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक एक सातापछि सकिएको छ । गएको शुक्रबारदेखि बसेको बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठक साउन १५ गते बस्ने छ । साउन १६ र १७ गते स्थायी कमिटी बैठक र १८ र १९ गते पोलिटब्युरो बैठक बस्ने छ । केन्द्रीय कमिटी बैठक साउन २० र २१ गते बोलाउने निर्णय भएको छ । अब सदस्यता नवीकरण गर्ने कामलाई पनि अघि बढाइने छ । ज्वालाले बैठकमा राजनीतिक वैचारिक विषयमा लामो छलफल भएको बताए । ूसबै इस्यूलाई एकरूपताका साथ लैजाने निष्कर्ष निकालेका छौँ । बैठकको सबैभन्दा ठूलो उपलब्धि हो । क्रान्तिको विषयमा कार्यक्रम, राष्ट्रिय इस्यूमा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।