भारत मणिपुरमा महिलालाई नग्नै घुमाएको घटना किन र कसरी ?

इम्फाल । भारत मणिपुर राज्यमा मेको सुरुमा जातीय हिंसा भड्किएपछि महिलाहरूलाई नग्न परेड गराइएको थियो। ती महिलालाई भीडले प्रहरी सुरक्षाबाट घिसारेर लगेको थियो । अहिले भाइरल भएको यो घटनाको भिडियोलाई लिएर आक्रोश र त्रासको वातावरण सिर्जना भएकाे छ । जानकारीमा आएअनुसार पीडित एक महिलाकाे भाइकाे सोही दिन भीडले हत्या गरेको थियाे । यो जघन्य अपराधको कारण थियाे- कथित नक्कली भिडियो ।

मणिपुरमा मेइती समुदायलाई अनुसूचि जनजाति (एसटी) का दर्जा दिनुपर्ने मागलाई लिएर गत मे ३ देखि मेइती समुदाय र कुकी जनजातिबीच हिंसा भड्किएकाे थियाे । पहाडी क्षेत्रमा जनजाति ऐक्यबद्धता र्‍याली निस्के लगत्तै झडप सुरु भएको हाे । प्रहरी स्रोतका अनुसार पहाड र उपत्यकामा रहेका दुई जातीय समुदायका बीचमा श्रृङ्खलाबद्ध आक्रमण र जवाफी हमला हुँदा गत ४ मेमा ती दुई महिला जङ्गली क्षेत्रमा भागेका थिए ।

आफ्नो समुदायका महिलाहरू बलात्कृत भएको अफवाह (झुटो मानिन्छ) फैलाइयाे । भीडले एउटा गाउँमा छापा मारेर दुई पुरुष र तीन महिला रहेको समूहलाई भगाएको थियो। तीमध्ये तीन जना ५६ वर्षीय पुरुष, उनका १९ वर्षीय छोरा र २१ वर्षीया छोरी एउटै परिवारका थिए । उनीसँगै दुई जना महिला पनि थिए, एक ४२ वर्षकी र अर्की ५२ वर्षकी ।

नोङपोक सेकमाई प्रहरी थानाको प्रहरीले यी मानिसहरूलाई जङ्गलतर्फ गइरहेको देखेका थिए। प्रहरी चौकीबाट करिब दुई किलोमिटर टाढा रहेको त्याे पाँचजनाकाे समूहलाई भीडले आक्रमण गरेको थियाे । त्यही भीडले प्रहरीबाट उनीहरुलाई खाेसेकाे थियाे।

भीडको आक्रमणबाट १९ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको थियाे । युवकले आफ्नी २१ वर्षीया दिदीलाई भीडबाट बचाउन खोज्दा ज्यान गएकाे हाे । महिलाका आफन्तले प्रहरीमा दिएको उजुरी अनुसार एक महिलामाथि सामूहिक बलात्कार भएको खुलेको छ । प्रहरीले उजुरीका आधारमा १८ मेमा मुद्दा (एफआईआर) दर्ता गरेको थियाे । उक्त मुद्दा गत मे २१ गते नोङपोक सेकमाई प्रहरी चौकीमा सारिएको छ । यो घटना यही प्रहरी चौकी क्षेत्रमा भएको हो ।

मणिपुरमा मे ३ देखि इन्टरनेट बन्द गरिएको थियो । यो भिडियो हिजाे बिहीबार सार्वजनिक भएकाे हाे । भिडियाे सामाजिक सञ्जालमा छिट्टै भाइरल भयो। भिडियाेबारे आक्रोश पोखिएको छ । घटना भएको दुई महिनाभन्दा बढी समयपछि भीडमा रहेका हर्दास पक्राउ परेका छन्, जसले भीडकाे अगुवाइ गरेका थिए । भिडियोमा ३२ वर्षीय पुरुष हरियो टिसर्टमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भिडियोमा देखिएका अन्य अभियुक्तलाई फेसियल रिकग्निसन टेक्नोलोजीमार्फत् पहिचान गर्ने प्रयास गरिरहेको छ । घटनाको अनुसन्धानका लागि करिब एक दर्जन टोली खटिएको प्रहरीले जनाएको छ । तर ७७ दिनसम्म पनि किन कारबाही भएन भन्ने खुल्न सकेको छैन । कारबाही ढिलाइ बारे सरकारी स्रोतहरूले भन्याे , ‘परिस्थिति कठिन थियो र प्रारम्भिक ध्यान संकट व्यवस्थापन र राहतमा गयाे।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *