महामन्त्रीको क्यालेन्डर एनजीओको विसलिस्ट जस्तो देखियो : आरजु देउवा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्ट जस्तो भएको बताएकी छन्।
कांग्रेसको केन्द्रीय सदस्य आरजुले महामन्त्रीको प्रतिवेदन भनेपछि राजनीतिक दस्तावेज आउला भन्ने ठानेकोमा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको आरोप लगाएकी हुन् ।
‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्ट चाहीँ के त ? योभन्दा दुई तीनवटा उपलब्धिमूलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं,’ उनले भनिन् ।
आरजुले पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत बताएकी छन्। ‘हामी सुशासनका लागि कति तयार छौं। म प्रधानमन्त्रीको धर्मपत्नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरु हुने र उहाँहरुको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ,’ उनले भनिन् । नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको उनको भनाइ थियो । उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेसमेत बताएकी छन्।
पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरु कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ । उनले संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने पनि बताइन्।