ललिता निवास प्रकरण : १७ जनालाई थप पाँच दिन राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि आज (शुक्रबार) उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराएको थियो । उनीहरु २५ दिनदेखि थुनामा छन् । यता सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरणको रिटमा आदेश सुनाउने तयारी गरेको छ ।

पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित ४ जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । यसअघि हदम्यादको प्रश्न उठाउँदै १७ जनाका हकमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै आफुहरुलाई पनि थुनाबाहिर राखेर अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाको हकमा अन्तरिम आदेश जारी नभएको भन्दै थुनामा राख्न अनुमती दिएको थियो । सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *