प्रचण्डको चीन भ्रमणको संयोग, पहिलोचोटि प्रधानमन्त्री हुँदा ओलम्पिक, तेस्रोचोटि हुँदा एसियाडमा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अनौठो संयोग जुरेको छ । २०६६ मा पहिलोपटक प्रधानमन्त्री हुँदा उनी बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

तेस्रोचोटि प्रधानमन्त्री हुँदा प्रचण्ड हाङ्झोउमा एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १९औँ संस्करणमा सहभागी हुने भएका हुन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनसँग इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार भर्चुअल कुराकानी गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका युआनसँगको छलफलमा प्रचण्डले एसियाली खेलकुदका क्रममा चीन आउने बताएको निकट स्रोतको दाबी छ ।

एसियाड आगामी सेप्टेम्बर २३ अर्थात् असोज ६ गते देखि अक्टोबर ८ तारिखसम्म सञ्चालन हुँदैछ । यसअघि १९औँ एसियाली खेलकुद सन् २०२२ को सेप्टेम्बर १० देखि २५ तारिखसम्म चीनमै आयोजना हुने तय भएको थियो । तर, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलोपटक एसियाली खेलकुदको आयोजना भएको यस प्रतियोगितको १९औँ संस्करणमा सहभागी हुन ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् । एसियाली खेलकुदमा आयोजक चीनका साथै थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङकङका करिव ६ सय खेलाडी सहभागी हुनेछन् ।

एसियाडका खेलहरू हाङ्झोउ, निङ्बो, वेनझोउ, हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना हुनेछन् । उक्त प्रतियोगितामा नेपालले २९ वटा खेलमा भाग लिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *