गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कम्बोडियाको भ्रमण गरेर सोमवार राति स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले गृहमन्त्री गैरजिम्मेवार र बत्तमिजी भएको आरोप लगाए । ‘गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ, उनले भने, ‘आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्छ ।

विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ कि छैन भन्दै ओलीले प्रश्न गरे । गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उनले चेतावनी दिए । कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै ओलीले प्रश्न गरे । एक सञ्चारमाध्यमले सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति पनि ओलीले आपत्ति जनाए । नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिए उनको आरोप छ । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुरा मोड्ने काम गरिरहेको ओलीले बताए ।

अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्‍याइकन एमालेले नछोड्ने दृढता व्यक्त गरे । ‘सुन बोक्नेभन्दा पनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर बस्दैन । गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाणबिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताएका हुन् । अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशंका व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *