निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेको संख्या २४३५ जना , जनही १५ हजार जरिवाना बुझाउनुपर्ने
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको निर्वाचन खर्च सार्वजनिक नगर्ने उमेदवारको संख्या २४ सय ३५ रहेको छ । निर्वाचन आयोगले मंगलबार सो निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्नेको संख्या सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिहरुलाई नियम उलङ्घन गरेवापत जरिवाना तिराउने निर्णय गरेको हो ।
आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूले निर्वाचनमा लागेको खर्च सार्वजनिक गरेका छैन । खर्च सार्वजनिक नगरेपछि आयोगले जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले मंगलबार गरेको निर्णय अनुुसार जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व बुझाइ भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ ।
निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदन सहित पेश गर्न समेत आयोगले निर्देशन दिएको छ । आयोगले तोकिएको समयभित्र जरिवाना बापतको रकम नबुझाउने उमेदवारलाई एक कार्यकालका लागि निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाउने निर्णय निर्वाचन आयोगले गरेको छ ।
गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा खर्च विवरण नुझाएपछि ओयोगले तोकेको जरिवाना बापत २४३५ जनाबाट जनही १५ हजारका दरले राजस्व ३ करोड, ६५ लाख , २५ हजार संकलन हुन्छ ।