सुनकाण्डपछि विमानस्थलस्थित भन्सार प्रमुख फेरिए, पोखरेलको ठाउँमा पाण्डे

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख फेरिएको छ । अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख रहेको अरुण पोखरेल भदौ १५ गतेसम्म बिदामा बसेकाले उनको ठाउँमा पाण्डेलाई प्रमुख बनाइएको हो । निजामती राष्ट्रिय किताबखानाको महानिर्देशक रहेका पाण्डेको गत बिहीबार अर्थ मन्त्रालयमा सरुवा भएको थियो ।

पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् ।गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट करिब एक सय केजी सुन तस्करी हुँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए । सरकारले लामो समय निमित्तबाट कार्यालय सञ्चालन गर्नुभन्दा पाण्डेलाई जिम्मेवारी दिएको जनाएको छ ।

गत पुस १० मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे नौ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए । पोखरेल बिदामा रहेकै बेला करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *