ओली कम्बोडियामा युनिफिकेसन चर्चको सम्मेलनमा गएको खुलासा

काठमाडौं । एक साता लामो कम्बोडिया भ्रमण पूरा गरी एमाले अध्यक्ष केपी ओली स्वदेश फर्किसकेका छन् । कम्बोडियाको निर्वाचनमा पर्यवेक्षणका लागि ओलीलाई निमन्त्रणा आएको र त्यसकै लागि उनी एक प्रतिनिधिमण्डलसहित पुगेको समाचार आएको थियो ।

ओलीले निर्वाचन पर्यवेक्षण गरेको तस्बिर पनि मिडिया र सामाजिक सञ्जालमा प्रकाशित भइसकेका छन् । तर भित्री कुरा भने ओली दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आबद्ध संस्थाको दुई दिने सम्मेलनमा सहभागी भएको रहस्य खुलेको छ ।

कम्बोडियाको नोन्पेहमा युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन इन्स्टिच्युटले आयोजना गरेको ‘इन्टरनेसनल लिडरसिप कन्फ्रेन्सः पिस एन्ड डेमोक्रेसी’ मा ओली सहभागी भएका थिए । सम्मेलन जुलाई २१–२४ सम्म चलेको थियो ।

दक्षिण कोरियाको युनिफिकेसन चर्च आबद्ध युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युट त्यही संस्था हो, जसले नेपालमा होली वाइनको कार्यक्रम आयोजना गरेको थियो । त्यसबेला नेपालमा प्रधानमन्त्री केपी ओली थिए । नेकपाकालीन सरकारमा आयोजना भएको होली वाइन विवादमा परेको थियो । सरकारकै खर्चमा सो कार्यक्रम राखिएको थियो ।

युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युटको नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकाल हुन् । जो ओलीसँगै कम्बोडिया पुगेका थिए । सो सम्मेलनमा श्रीलंका, पाकिस्तान, नाइजेरियालगायत देशका पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपतिलाई आमन्त्रण गरिएको थियो ।

एकै समयमा कार्यक्रम आयोजना गरिएकाले ओली युनिभर्सल पिस फेडेरेसन एन्ड भिजन एन्स्टिच्युटको कार्यक्रममा सहभागी भएको समाचार बाहिर आउन सकेन । सबैको ध्यान निर्वाचनको पर्यवेक्षणमा मात्रै गयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *