रिलायबल लाइफको आईपीओको आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले गत असार २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।