विश्वकपको एशियाली छनौटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने

काठमाडौं । अमेरिका र मेक्सिकोमा सन् २०२६ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र सम्पन्न भएको छ ।

मलेसियास्थित क्वालालम्पुरमा विहिबार भएको ड्र मा नेपालले प्लेअफमा लाओसको सामना गर्ने भएको छ ।

विश्वकप छनौटको प्लेअफमा अफगानिस्तानले मंगोलियासँग, माल्दिभ्सले बंगलादेशसँग, सिंगापुरले गुआमसँग, यमनले श्रीलंकासँग खेल्ने भएको छ । त्यस्तै म्यान्मारले मकाउसँग, कम्बोडियाले पाकिस्तानसँग, चाइनिज ताइपेइले टिमोर लेस्टेसँग, इन्डोनेसियाले ब्रुनाईसँग र हङकङले भुटानसँग प्लेअफमा खेल्ने भएको छ ।

नेपालसहित २० राष्ट्रले होम एण्ड अवेको आधारमा प्लेअफ पार गरेपछि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् । फिफा वरीयताका अनुसार एसियामा रहेका पुछारका २० टोलीले प्रारम्भिक प्लेअफ छनोट खेल्नुपर्नेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई ४-४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै तेस्रो चरणमा खेल्नेछन् ।

प्रारम्भिक प्लेअफमा सहभागी सबै टोलीलाई दुई पटमा विभाजन गरिएको छ । पहिलो पटमा २७ देखि ३६ स्थानमा रहेका नेपाल, हङकङ, इन्डोनेसिया, चाइनिज ताइपेइ, माल्दिभ्स, यमन, अफगानिस्तान, सिंगापुर, म्यानमार, कम्बोडिया सहितको टोली रहेका छन् । दोस्रो पटमा ३७ देखि ४६ स्थानका टोली भुटान, मकाउ, बंगलादेश,मंगोलिया, लाओस, बु्रनाई, टिमोर–लेस्टे, पाकिस्तान, गुआम र श्रीलंका रहेका छन् ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि युवा खेलाडिलाई समेटेर प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *