सिटिजन्स बैंकको नाफामा छलाङ
काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेर ५ अर्ब ८५ करोड ७२ लाख ७४ हजार रुपैयाँ गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९९ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ०.८८ प्रतिशत बढेर ८७ करोड ६७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत बढेर ६ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ, सञ्चालन नाफा १३.३९ प्रतिशत बढेर ३ अर्ब ७ करोड २७ लाख रुपैयाँ र वितरण योग्य नाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
गत असारसम्म बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष ६ अर्ब ७४ करोड रुपैयाँ, निक्षेप संकलन १०.५० प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह ६।९० प्रतिशत बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.४७ रुपैयाँ बढेर १५ रुपैयाँ ५९ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ । तथ्याङ्क अनुसार बैंकको खराब कर्जा ३.१९ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको एनपीएल २.२२ प्रतिशत थियो । यस्तै, बैंकको सीडी रेसियो ८२.४० प्रतिशतमा झरेको छ । बैंकको लागत ८.३४ प्रतिशत र आधार दर १०.५१ प्रतिशत छ ।