एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले पाए छुट

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी दानबहादुर कार्की र अर्का एसपी रमेशकुमार बस्नेतलाई सर्वोच्च अदालतले अदालतको अवहेलनाको आरोपबाट छुट दिएको छ ।

१२ वर्ष अघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्ताव गरेको थियो । फैसला कार्यान्वयन गरेमा प्रस्ताव गरेको कैद र जरिवाना मिनाहा हुनसक्ने भनी सर्वोच्च अदालतले गत ११ फागुन, २०७९ मा आदेश गरेको थियो । सोही अनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले उनीहरुलाई आइतबार सजाय मिनाहा गरेको हो ।

२३ जेठ २०५६ मा कीर्ते जन्मदर्ता र डिस्चार्ज प्रमाणपत्र बनाएको भन्दै काठमाडौं प्रहरीमा निवेदन परेपनि प्रहरीले अनुसन्धान अघि नबढाएपछि ‘अनुचित विलम्ब गरेकाले शीघ्रता प्रदान गरी पाउँ’ भन्दै पुनरावेदन अदालतमा रिट निवेदन परेको थियो ।

पुनरावेदन अदालत पाटनले २९ असार २०६८ मा जाहेरीबारे यथाशीघ्र काम, कारबाही अघि बढाउन जारी गरेको परमादेश उनीहरुले कार्यान्वयन गरेका थिएनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *