प्रधानमन्त्रीलाई ओलीको प्रस्ताव- कोशी सरकार गठनमा सहकार्य गरौँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कोशी प्रदेशको सरकार गठनमा सहकार्यको प्रस्ताव गरेको छ ।
आज बिहान प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका ओलीले कोशीमा सरकार गठन पेचिलो अवस्थामा रहेका भन्दै सहकार्यको प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले गठबन्धनले सरकार गठन गर्न नसक्ने अवस्था रहेकाले एमाले–माओवादीको सहकार्यमा सरकार गठन गर्नु नै निकास रहेको प्रधानमन्त्रीलाई सुनाएका थिए ।
अध्यक्ष ओलीले कोशीमा सहकार्यका लागि प्रस्ताव गरे पनि प्रधानमन्त्री प्रचण्डले भने अहिलेको अवस्थामा सहकार्यको सम्भावना नरहेको जवाफ दिएका थिए । स्रोतले भन्यो– ‘ओलीजीले नयाँ सिराबाट सहकार्य प्रारम्भ गरौँ भन्ने प्रस्ताव राख्नु भएको थियो । तर, प्रधानमन्त्रीज्यूले अहिले नै त्यो सम्भावना नरहेको जवाफ दिनु भएको छ ।’
स्रोतका अनुसार ओलीले नयाँ सिराबाट सहकार्य हुने अवस्था बनेको खण्डमा माओवादीलाई मुख्यमन्त्री बनाउन एमाले तयार रहेको बताएका थिए ।
गठबन्धनका उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्चले असंवैधानिक ठहर गर्दै खारेज गरेसँगै कोशीमा नयाँ सरकार गठनको प्रक्रिया जारी छ । तर, अहिलेसम्म कसैले बहुमतको आधारमा सरकार दाबी गर्ने वातावरण बनेको छैन ।
गठबन्धनले सभामुखलाई राजीनामा गराएर भए पनि बहुमत पुर्याएर सरकार दाबी गर्ने तयारी गरेको छ । तर, सभामुखले राजीनामा गरेर सरकार गठन गरे पनि नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना भने छैन ।
गठबन्धनले सरकार गठन गर्न नसकिरहेको अवस्थामा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग सहकार्यको प्रस्ताव राखेका हुन् । तर, तत्काल माओवादीले एमालेसँग सहकार्य गर्ने सम्भावना भने देखिन्न ।