साउन २९ देखि अनशन बस्ने डा.गोविन्द केसीको घोषणा

काठमाडौं ।चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी पुनः अनशन बस्नेभएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै १४ दिनको समयसीमा दिएका छन् । सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमति कार्यान्वयन गर्न उनले माग गरेका छन् ।

‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौं ।’ केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो ।

केसीले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका माग गरेका छन् ।

‘साढे दुई दशकसम्मको भद्रगोलका कारण डिग्री किनबेचमा परिणत भएको चिकित्सा शिक्षा सुधारका लागि दशक लामो संघर्षबाट हासिल भएका उपलब्धिहरू उल्ट्याउने यस्तो प्रयास निन्दनीय छ । यसबीच हामीले बारम्बार विज्ञप्तिहरुमार्फत् सरकारलाई त्यस्तो उल्टो बाटो नहिँड्न चेतावनी दिँदादिँदै पनि सरकारले कुनै सुनुवाइ गरेको छैन । बरु चिकित्सा शिक्षा आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि सुरु भइसक्नु पर्ने प्रक्रिया अझै सुरु नगरेर आयोगलाई नेतृत्वविहीन बनाएर त्यसको कार्यसम्पादन अवरुद्ध पार्ने प्रयासमा छ,’ केसीले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *