बंगलामुखी साकोसको १६औं स्थापना दिवस
भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी १६ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु रहेका थिए । संस्थाले सो अवसरमा आयोजना गरेको सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रममा प्रस्तुतीकरण गर्दै अध्यक्ष लाखाजुले एक आपसमा मिलेर गर्ने कार्य नै सहकारी भएको बताए । बैंक र सहकारीको भिन्नताको बारेमा बताउँदै उनले बैंकबाट सीमिति व्यक्तिले मात्र लाभ लिने र सहकारीमा प्रत्येक सदस्य मालिक हुने भएकाले सहकारीमा नै कारोबाार गर्नु पर्नेमा जोड दिए । बैंक वित्तीय संस्था भन्दा सहकारी धेरै राम्रो भए पनि केहि व्यक्तिले सहकारीको बोर्ड राखेर सदस्यको करोडौ बचत अपचलन गरेकाले कारोबार गर्दा भने समुदायमा आधारित संस्थाको छनोट गर्न उनले सुझाव दिए । सदस्य नबनाइ गैर सदस्यसँग कारोबार गर्ने, संस्थामा जम्मा भएको बचतलाई नीजि व्यवसायमा लगानी गर्ने, घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्ने, बचतमा बढी ब्याज दिने, नियमित बचत कार्यक्रम सञ्चालन नगर्ने, समयमा साधारण सभा नगर्ने र गैर स्थानीय सञ्चालकले सञ्चालन गरेका संस्थामा कारोबार नगर्न उनले सदस्यहरुलाई सुभाव दिए । ब्याजको लागि सहकारीमा करोडौं बचत गर्ने र अहिले संस्था भागेपछि माइतीघरमा गएर बचत फिर्ता मागेर नपाइने उनले प्रष्ट पारे । बचत फिर्ता आफुले कारोवार गरेको संस्थामा नै गएर माग्ने हो भन्दै उनले ब्याजको लोभले गर्दा कतिपय संस्थामा जम्मा गरेको बचत डुबेको बताए ।
मुलुकभर ३० हजार सहकारी संस्था रहेकाले क्षमताविहिन नियामक निकायले यति धेरै सहकारीको अनुगमन गर्न नसक्ने उनले प्रष्ट पारे । विपतका लागि बचत गर्नुपर्छ भनेर परापूर्वकालदेखि नै सिकाइएकाले भविष्यका लागि स–सानो रकम बचत गर्दै जानु पर्नेमा उनको जोड दिए । कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी निर्देशक तथा वित्त विभाग प्रमुख दुर्गाप्रसाद ढकालले पनि सदस्यहरुलाइ प्रशिक्षण दिएका थिए । सहकारीका नराम्रा पक्ष बाहिर गएर भन्नु भन्दा संस्था भित्रै छलफल गरेर सुधार गर्न सके यसले सदस्य र संस्था दुबैको हित हुने उनको भनाइ छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठले सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रम आयोजना गरेको जनाए । वित्तीय संकटको बीचमा पनि संस्थाको समग्र वित्तीय अवस्था राम्रो रहेकाले सदस्यहरुलाइ ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे । सदस्यको बचत सुरक्षित ठाउँमा लगानी गरेको भन्दै उनले संस्थाप्रति कुनै अविश्वास नगर्न आग्रह छ । अरु सहकारी संस्थामा जस्तो सञ्चालकहरुले संस्थाबाट ऋण नलिएको र सदस्यले हेर्न चाहेमा कर्मचारीले सोको विवरण उपलब्ध गराउने उनले बताए । संस्थाले आयोजना गर्ने हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउन सदस्यहरुलाई उनले आग्रह गरे ।
संस्थाकी उपाध्यक्ष सरु श्रेष्ठले स्वागत मन्तव्य राख्दै सदस्यहरुले दिएको सुझावलाई समेटेर संस्था अगाडी बढ्ने बताइन् । मुलुकको अर्थतन्त्रमा परेको संकटका कारण सहकारीप्रति सदस्यको विश्वास घट्दै गएकाले शिक्षा शिविर जस्ता कार्यक्रमले सदस्यसँग भेटघाट र छलफल भइ सहकारीप्रति विश्वास बढाउन टेवा पुग्ने उनको भनाइ छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेको थिए । २०६४ साल साउन १६ गते १० लाख शेयर पुँजीबाट सुरु भएको संस्थामा गत असारमसान्तमा १४ करोड ५१ लाख शेयर पुँजी पुगेको उनले बताए । त्यसैगरी संस्थाको जगेडा कोष २ करोड २३ लाख , कूल सम्पति १ अर्ब ३३ करोड २६ लाख र बचत संकलन ८६ करोड ८४ लाख पुगेको उनले जानकारी दिए । त्यसैगरी ऋण लगानी १ अर्ब १३ करोड ८८ लाख र शेयर सदस्य ३४८९ रहेको उनले बताए । संस्थाबाट ५ सय ७२ जनाले ऋण लिएका छन् भने संस्थामा १०.३९ प्रतिशत रहेको छ । संस्थागत पुँजी २ करोड ४६ लाख र अन्य कोषहरु २ करोड ६४ लाख रहेको छ । संस्थाले इ टेलर सञ्चालनमा ल्याएको र सदस्यहरुले क्युआर कोड स्क्यान गरी बचत निकाल्न र जम्मा गर्न सकिने उनले जानकारी दिए ।
सदस्यहरुलाइ यसको प्रयोग कसरी गर्ने भनेर सिकाउने र एक बर्षपछि चेकबुक रहित बनाउने लक्ष्य लिएको उनको भनाइ छ । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि संस्थाले टेवा पु¥याउँदै आएको छ । सदस्यहरुको वित्तीय कारोवारलाई सहज बनाउन मोबाइल बैङ्किग र इन्टरनेट बैंङ्किग सेवा सञ्चालनमा ल्याएको र सदस्यहरुले यसको प्रयोग राम्रो गरेको उनले बताए । समुदायमा आधारित गुणस्तरीय दिगो वित्तीय संस्थाको परिकल्पना गरेर संंस्था अगाडि बढेको छ । कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा न. २ का वडा अध्यक्ष प्रदिप कार्की, मध्यपुर थिमि नगरपालिका वडा न. ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, दुबै नगरपालिकाका सहकारी शाखा प्रमुख, स्थानीय सहकारी संस्थाका अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले गरेका थिए ।