गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ ।

घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन् । उनि मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउछिन् । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा छिन् । आफूले थाहा पाउने समयमा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको उनले सम्झीन् ।

“पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ”, देउकुमारीले भनिन्, “हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।” सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गरेकी छन् ।

परिवारको प्रमुख आयस्रोत पानीघट्टबाट हुने आम्दानी रहेको उनले बताइन् । “गाउँमा जग्गा-जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ”, अधिकारीले भनिन् , “प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।”

परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गथ्र्यो । पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको उनको भनाइ थियो । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उनले बताइन् ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् ।

कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन् ।

यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उनको भनाइ थियो ।

“हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ”, अधिकारीले भनिन्, “पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।”

अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाईन् ।

पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए । उनले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिए । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उनले जानकारी दिए ।

वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए । “हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ”, उनले भने, “हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *