कांग्रेसका चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस सांसद रामकृष्ण चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । विना विभागीय मन्त्री बनेको ७५ दिनपछि चित्रकारले आइतबार विभागीय जिम्मेवारी पाएका हुन् ।
पर्यटन मन्त्रालयअन्तर्गतको उद्यागे र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सामान्य प्रशासन मन्त्रालय झिकेर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको मन्त्री चित्रकारले जानकारी दिए । ‘पर्यटन र मुख्यमन्त्री कार्यालयको दुईवटा विभाग झिकेर नयाँ मन्त्रालय बनाइएको हो । आजैदेखि विभागीय जिम्मेवारी बहन गर्न गइरहेको छु,’ चित्रकारले भने ।
साढे दुई महिनासम्म पनि मुख्यमन्त्री जम्कट्टेलले चित्रकारलाई विभागीय मन्त्रालयको जिम्मेवारी नदिएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कांग्रेसबाट मन्त्री बनेका सबैले सामूहिक राजीनामाको तयारी गरेका थिए । सोही कारण मुख्यमन्त्री जम्कट्टेलले आइतबार उनलाई विभागीय जिम्मेवारी दिएका हुन् ।
कांग्रेस माओवादीले पाएको भौतिक पूर्वाधार मन्त्रालय टुक्र्याउन प्रस्ताव गरेको थियो । तर मुख्यमन्त्री तयार भएनन् । कांग्रेसकै मन्त्रालय र आफूले जिम्मेवारी सम्हालेको मन्त्रालय टुक्राएर उनले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाएका हुन् ।
बागमती प्रदेशमा कांग्रेसले ६, माओवादीले पाँच र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय पाएका छन् ।