पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै


काठमाडौँ । अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनु नपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको छ । विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ । आइतबार विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अनलाइनबाटै पुलिस रिपोर्ट प्रमाणीकरण सेवाको शुभारम्भ गरे । विभागले सो सेवालाई अनलाइनबाट प्रवाह गर्ने भएपछि अब विभागमा दैनिक लाग्ने भीड कम हुने भएको छ । सेवा शुभारम्भ गर्दै परराष्ट्रमन्त्री साउदले सरकारले सबै खाले प्रशासनिक सेवामा नागरिकलाई सहजता प्रदान गर्न उद्धत रहेको बताए ।

उनले वर्तमान सरकार बनेपछि नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा बदलाव आएको दाबी गरे । यहाँ पनि सेवाग्राहीको भीडभाड हुने अवस्था थियो । सानो कामका लागि पनि लामो समय लाइनमा बस्नुपर्ने अवस्था थियो । अब कम्तीमा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणकै लागि कन्सुलर विभाग धाइरहनु पर्दैन । यो सेवा हामीले अनलाइनबाट घरमै बसी बसी गर्न सकिने गरी प्रबन्ध गरेका छौं, उनले भने, यसले काठमाडौं बाहिरबाट आउने सेवाग्राहीको हकमा ठूलो आर्थिक भार घटाएको छ । विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने सेवा सुरु भएपछि अब दैनिक करिब १६ सय सेवाग्राही प्रत्यक्ष लाभान्वित हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *