काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो
मन्थली । तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिएको छ । सम्झौता अवधि सकिए पनि काम सुरुवात हुन सकेको छैन । तीन वर्ष अवधिको उक्त पुलको सम्झौता गत असार मसान्तमा सकिएको हो ।
राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गमा पर्ने तामाकोशी पुल गत असार मसान्तमा पूरा गर्नु पर्ने सम्झौता थियो । हालसम्म उक्त पुलको जगको कामसमेत नभई म्याद सकिएको हो । पुल निर्माणका लागि तीन वर्षमा तीन मेसिनसम्म निर्माण स्थलमा झारिएको थियो ।
निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान असरल्ल छन् । फलामे डण्डीमा खिया लागेर काम नलाग्ने भएको छ । निर्माण स्थलमा झारिएका मेसिन महिनौँदेखि चलेका छैनन् ।
पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।
रामेछापका तत्कालीन प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको बैठकले तामाकोशी पुलको निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई तत्काल काम गर्न निर्देशन दिने निर्णय गरेको थियो ।
उक्त निर्णयबमोजिम निर्माण व्यवसायीलाई कारबाही प्रक्रियासमेत सम्बन्धित निकायले अघि बढाएको छैन । मध्य पहाडी सडक आयोजनाका अनुसार पुल निर्माणको लागि सम्झौता गरेको निर्माण व्यवसायीलाई पटक–पटक निर्माण थाल्नका लागि पत्राचार गरिएको छ ।
निर्माण व्यवसायीले अब गर्छु भनेर आलटाल गर्दै आइरहेका छन् । पुल निर्माणका लागि झारिएको फलामे डण्डी गुणस्तरीय हुनु पर्नेमा आयोजनाले जोड दिएको छ ।