मच्छिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीसँग प्रतिस्पर्धा
काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ । खेलअघि पत्रकार सम्मेलनमा मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले आफ्नो टिम पारोविरुद्ध खेल्नका लागि पूर्ण रूपमा तयार रहेको बताए । हाम्रो तयारी पूरा भइसकेको छ । हामी पारोविरुद्धको खेलका लागि तयार छौँ । कमजोर पक्षमा सुधार गर्नका लागि हामीले नयाँ खेलाडीसँग सम्झौता गरेका हौँ, केसीले भने, र, हामी पारोविरुद्ध प्रयोग गर्नेछौँ । हामी विपक्षीहरूलाई सम्मान गर्छौँ र राम्रोसँग अध्ययन गरेका छौँ । उनीहरू विदेशी खेलाडीमा बढी निर्भर छन् । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले आफूहरूको प्रशिक्षण राम्रो रहेको र टिमको सम्पूर्ण तयारी पूरा भएको बताए । हाम्रो तयारी मौसम र वर्षाका कारण ढिलो सुरु भयो । तर, हामीले नयाँ खेलाडी अनुबन्ध गरेका छौँ र उनीहरूले राम्रोसँग प्रशिक्षण गरिरहेका छन् श्रेष्ठले भने ।
पारोका मुख्य प्रशिक्षक पुष्प लामा शर्माले नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित मच्छिन्द्र राम्रो टोली भएको बताए । उनले आफ्नो टिमले बलियो प्रतिद्वन्दिता प्रस्तुत गर्ने अपेक्षा गरिएको उल्लेख गरे । हामीले लिगका तीनवटा खेल खेलेका छौँ र पूर्ण रूपमा तयार छौँ । मच्छिन्द्र राम्रो टोली हो र हामी उनीहरूलाई सम्मान गर्छौँ । आशा छ, हामी अर्को चरणमा प्रवेश गर्नेछौँ, शर्माले भने । पारोका कप्तान किन्ले वाङ्चुकले आफूहरू मच्छिन्द्रविरुद्धको खेलमा केन्द्रित भएको बताए । हाम्रा केही खेलाडीहरूलाई यहाँको मैदान र अवस्था राम्ररी थाहा छ । हामी त्यसको फाइदा उठाउने आशा गर्छौँ । हामी अहिले मच्छिन्द्रविरुद्ध पूर्ण रूपमा केन्द्रित छौँ । त्यसपछि मात्र हामी अर्को चरणको बारेमा सोच्न सक्छौँ । पारो भुटानी लिग च्याम्पियन बन्दै एएफसी कप छनोटका लागि आएको हो । मच्छिन्द्रले भने सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग एएफसी लाइसेन्स नभएका कारण मौका पाएको हो । मच्छिन्द्र र पारोबीचको खेल काठमाडौंको दशरथ रंगशालामा बेलुका ५ः३० बजे सुरु हुनेछ ।