सदन खुलाउन सभामुखको कार्यकक्षमा शीर्ष नेताको बैठक

काठमाडौं । संसदको गतिरोध अन्त्य गरी सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेतासँग छलफल थालेका छन् । बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित आग्रह गरेका छन् । सोहीअनुसार तीनै दलका शीर्ष नेता र प्रमुख सचेतक उपस्थित भइसकेका छन् ।

साउन १० मा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटकभन्दा बढी छलफल गरेका हुन् ।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएका थिए । सोही बैठकले गरेका निर्णयलाई शीर्ष नेताको बैठकले अन्तिम रुप दिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *