आज राष्ट्रिय भू–संरक्षण दिवस : प्रकृति प्रेमी प्रबिण आचार्य
काठमाडौँ । जलवायु अनुकुलनको आधार, व्यवस्थीत एकीकृत भु-जलाधार मुल नाराको साथ भु-संरक्षण दिवस २०८० को हार्दिक शुभकामना, बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।
विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । वि.सं २०३१ देखि ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको पाइन्छ । भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने गरिएको हो ।
वर्षायामको पानीले नेपालबाट वर्षेनी २४ करोड घनमिटर माटो बगेर खेर गइरहेको अनुमान गरिन्छ । खेतीयोग्य जमीनमा हरेक वर्ष धान, धान पछि गहु, त्यसपछि मकै र फेरि उही धानको खेती क्रमस रूपमा हुने गरेका कारणले नेपालको माटोको उर्वरा शक्ति हरेक वर्ष क्रमशः घट्दै गइरहेको छ । मुलुकको खेती योग्य जमीनमा न्यूनतम जैविक कार्बन २ प्रतिशत हुनुपर्दछ । जैविक कार्बनको मात्रा माटोमा यो भन्दा कम भयो भने उक्त जमीनमा कृषि उत्पादन हुनपर्ने जति हुँदैन ।
तर, अन्नको भण्डार भनिने तराईको जमीनको ९५ प्रतिशत भन्दा बढी क्षेत्रफलमा त्यो न्यूनतम २ प्रतिशत पनि जैविक कार्बन छैन । त्यसैगरी यदि माटोमा जैविक पदार्थको मात्रा ३ प्रतिशतभन्दा बढी छ भने त्यसलाई खेतीपातीको लागि राम्रो माटो मानिन्छ । यस्तो माटो नेपालको हकमा जम्मा केवल ४ प्रतिशतको हाराहारीमा रहेको छ । यदि यो मात्रा १ प्रतिशत भन्दा पनि कम भएमा त्यो जमीन कृषि कार्यको लागि उपयुक्त मानिदैन । राष्ट्रिय रूपमा हेर्दा नेपालको ६० प्रतिशत भन्दा पनि बढि जमीन यस प्रकारको अनुपयुक्त वर्गमा पर्दछ । नेपालको १२ प्रतिशत जमीन त खेतीको लागि कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । एकातिर माटो हाम्रो जीवनको आधार हो, गुणस्तरीय माटो बिना यस धर्तीमा जीवन सम्भव छैन भन्ने देखाउँदछ । अर्कोतिर, वैज्ञानिक तथ्यहरूले विश्वको सबैतिरको माटो धैरै मात्रामा गुणस्तरहीन बनिसकेको र भोलिका दिनमा अझै कामै नलाग्ने बन्दै जाने स्पष्ट संकेत देखिइरहको छ ।
साथै, बिग्रिसकेको माटोलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्नेतर्फ पनि हाम्रो उत्तिकै ध्यानजान आवश्यक छ । सचेत ध्यान कर्ममा बदलिन्छ । यसरी मात्र हामी हाम्रा सन्ततिहरूलाई हाम्रा पूर्खाले सुम्पेको नासो यथारूपमा हस्तान्तरण गर्न सक्छौं । विगत वर्षहरूमा फूलजन्य बिरुवा, धुपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ । माटोलाई कसरी जोगाउने वा यसको गुणस्तर नाश हुनबाट कसरी बचाउने भन्नेतिर आजैदेखि हामी सबैको ध्यानाकर्षण हुन जरुरी छ ।