कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध
नवलपरासी । अविरल वर्षासँगै खसेको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका वडा नं १ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भीरमा खसेको पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिरोले करिडोर अवरुद्ध भएसँगै यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल सडक सञ्चालन हुने सम्भावना कम रहेको उनले बताए ।
कालीगण्डकी करिडोरअन्तर्गत नै गैँडाकोट–३तरङ्खोलामा पानीको बहाव बढ्दा यातायात सेवा सञ्चालन हुन नसकेको पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध हुँदा नवलपुरका पहाडी क्षेत्रसहित यस खण्ड भएर पाल्पा, तनहुँ, स्याङ्जाका लागि छुट्ने कुनै पनि यातायात सञ्चालन हुन सकेका छैनन् ।
दलदले–बुलिङटार सडकखण्डसमेत पहिरोको कारण अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षासँगै बुलिङटार–४अर्खलामा खसेको पहिरोको कारण पूर्णरूपमा सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।