युकेबाट बोलाएर काठमाडौंमा बलात्कार
काठमाडौं । युवती बलात्कारको आरोपमा कैलालीका एक पुरुष पक्राउ परेका छन् । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाएको हो ।
उनीमाथि अनुसन्धान सकिएर अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिंहले बेलायत बस्दै आएकी एक युवतीसँग टिकटकमार्फत् चिनजान गरेका थिए । त्यसपछि उनले ती युवतीलाई विवाह गर्ने भन्दै काठमाडौं बोलाएर असार ३१ गते बलात्कार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
सिंहले ती युवतीलाई एयरपोर्टमा झर्ने बित्तिकै सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । युवतीलाई जबरजस्ती करणी गर्न लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली आएर सिंहलाई पक्राउ गरेको थियो । बलात्कारपछि कतै नभन्नु भन्दै आफूमाथि धम्की र कुटपिट समेत भएको युवतीले प्रहरीसमक्ष बयान दिएकी थिइन् ।