सभामुख घिमिरेको भूमिकामाथि सन्देह, एमालेको निर्देशनमा चलेको आशंका
काठमाडौं । सभामुख देवराज घिमिरेमाथि आमजनताले जे शंका गरेका थिए, अहिले उनले निभाएको भूमिका त्यतैतिर सोझिँदै गएको छ ।
घिमिरेले सभामुखको भूमिका प्रभावकारी ढंगले निभाउन नसक्ने अनुमान गरिएको थियो । किनभने उनको नाम एमाले अध्यक्ष केपी ओलीको कोटको खल्तीबाट फुत्त निकालिएको थियो । महाकाली सन्धि पारित गर्ने बेला घिमिरेले संदिग्ध भूमिका निभाएका थिए । उनकै एक भोटले महाकाली सन्धि पारित भएको थियो ।
अहिले पनि उनी एमालेकै सहयोगीको भूमिका निभाइरहेको आशंका गर्न थालिएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।
गत असार ३१ गते बसेको बैठकयता ६ वटा बैठक एमालेका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । साउन १० मा बसेको बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय वा संसदीय समिति गठनको माग गर्दै एमालेले सुरु गरेको अवरोध बुधबार पनि जारी रह्यो । यसबीचमा तीनवटा बैठक सूचना टाँसेर स्थगित गरियो भने तीनवटा बैठक कार्यसूचीमै प्रवेश गर्न सकेन ।
आज पनि बैठकको प्रारम्भमै एमाले सांसद सूर्यथापाले छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने अडान राखे । त्यसपछि लगत्तै सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाउँदै बैठक स्थगित भएको घोषणा गरे। एमालेले लगातार बैठक अवरुद्ध पारेपछि संसद भिडन्ततर्फ उन्मुख हुन् थालेको छ ।
सत्तापक्षका सांसदहरुले बैठक सञ्चालनमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप सभामुखमाथि लगाएका छन् । सभामुख घिमिरेले बैठक सञ्चालनको निम्ति पर्याप्त पहल नगरी एमाले सांसदहरुलाई बोल्न समय दिएको सत्तापक्षका सांसदहरुको आरोप छ । माओवादीका सांसद राजन दाहालले यसअघि संसद बैठकमै सभामुखको भूमिका तटस्थ हुन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।
एमाले सांसदले नाराबाजी गर्नासाथ सभामुख घिमिरेले एक मिनेट पनि बैठक सञ्चालन गर्दैनन् । विगतमा सत्तापक्ष र प्रतिपक्षले चार घन्टासम्म नाराबाजी गरिरहे पनि तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले बैठक स्थगित गर्दैनथे ।
उनले सांसदहरूलाई संयम गर्न आग्रह गर्ने गर्थे । तर अहिले सभामुख घिमिरेले एमालेलाई नै सहयोग पुग्नेगरी तुरुन्तै बैठक स्थगित गर्ने गरेका छन् । यसले पनि उनी एमालेकै सहयोगी बन्ने गरेको सत्ता पक्षका सांसदहरूको आरोप छ ।