कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर
काठमाडौं । नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर गरेका हुन् ।
सांसद अर्जुननरसिंह केसीले सांसद शर्मा पक्राउ शंकास्पद रहेको बताए।सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आशंका व्यक्त गरे। सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए।
सांसद श्याम घिमिरेले शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्यो ? अरु बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्यो ?यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनुपर्यो।’
सांसद उदयशम्शेर राणाले पार्टीका एकपछि अर्का नेतामाथि सरकारले अभियोग लगाएको बताएका छन्। दलको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए।
सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक-एक गरेर कांग्रेसको संख्या बटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको बताएका छन्।
बैठकमा केही सांसदहरूले सांसद शर्माको सात/आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका हुन् ।
बैठकमा नेताहरूले पक्राउ आपत्तिजनक रहेको बताए पनि पार्टीको आधिकारिक धारणा पर्सि मात्र बनाइने पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “आज नेताहरूले सुनील शर्माको पक्राउ अप्रत्यासित र आपत्तिजनक छ भनेर धारणा राख्नुभएको छ । थप छलफल गरेर पूर्ण निर्णय पर्सि गर्छौं,” लेखकले भने ।
बैठकमा संसद् बैठकको अवरोध, संसद्मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसद्मा कांग्रेसको प्रभावकारी भूमिकाका बारेमा सांसदहरूले आफ्ना धारणा राखेकाे सांसद डिल्लीराज पन्तले जानकारी दिए ।
यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकभर आएको बाढीपहिरो, डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महङ्गी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरेकाे उनले बताए ।
शुक्रबारको बैठकमा करिब डेढ दर्जन सांसदले आफ्ना धारणा व्यक्त गरेकाे र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्काे बैठक आइतबार दिउँसो १ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।