फरार भएको खबर फैलिएपछि पूर्वमन्त्री जोशीले भने– म घरमै छु, सहयोग गर्न तयार छु
काठमाडौं । पूर्वमन्त्री चन्द्रदेव जोशीले आफू फरार नभएको र घरमै रहेको स्पष्ट पारेका छन् ।
प्रहरीले सूचना चुहाउँदा ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएका तीन पूर्वमन्त्री फरार भएको हल्ला फैलिएपछि जोशीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू घरमै रहेको र फोन सम्पर्क पनि चालू रहेको जानकारी गराएका हुन् । उनले परेको बेहोर्न तयार रहेको स्पष्ट पारेका छन् ।
‘म त घर मा नै छु । मेरो फोन सम्पर्क पनि चालु छ । सहयोग गर्न तयार भएर बसेको छु । परेको बेहोर्न पनि तयार छु भनेकै छु,’ उनले लेखेका छन्, ‘जीवनभर राजनीति र देशको लागि त्याग मात्र गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन । साँच्चै दुःख लागेको छ ।’
पूर्वमन्त्री जोशीले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने नीतिगत निर्णय गर्दा आफू मन्त्रीमा बहाल नरहेको जिकिर गर्दै आएका छन् । तर सिआईबीले एकोहोरो उनको नाममा पक्राउ पुर्जी जारी भएको प्रचार गरिरहेको छ ।
यो प्रकरणमा सिआईबीले जोशीसँगै विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ र सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।