बाबुराम भट्टराईले भने– लडाकु शिविरमा भएको घोटालाको छानबिन गरौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए । लडाकु शिविर घोटालामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन अर्थमन्त्री वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरालगायत सबै तानिने छन् ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’, भट्टराईले भने, ‘अहिलेको सरकारले गरिरहेका अनुसन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए । ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।

सय केजी सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु जायज भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *