माओवादी एकलौटी ढंगले अघि बढेपछि नेपाली राजनीतिमा उथलपुथलको संकेत
काठमाडौं । सत्तारुढ माओवादी एकलौटी ढंगले अघि बढेपछि नेपाली राजनीतिमा फेरि उथलपुथलको संकेत देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण सहयात्री दलका शीर्ष नेतादेखि सांसद र केन्द्रीय सदस्यहरू नै असुरक्षित भएपछि नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमाले कुनै पनि हालतमा सुन तस्करी प्रकरणमा सरकारलाई गलाउने रणनीतिमा अघि बढेको छ । एमाले अध्यक्ष केपी ओलीले सरकारका कमजोरीको फेहरिस्त लिएर बसेका छन् । त्यही भएर उसले संसद् बैठक खोल्ने संकेत दिएको छैन ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । साउन १० गतेदेखि पटक पटक अवरुद्ध बैठक आज डाकिएको हो । एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ । राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ ।
दुवै सदनको बैठक बोलाइएको समयमै नेपाली कांग्रेसको संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो १ बजे राखिएको छ । बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन विधेयकलाई कसरी अगाडि बढाउने र नयाँ विधेयक प्रस्तुत गर्नेबारे छलफल हुने जनाइएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको निवास, चप्पल कारखानामा संसदीय दलको कार्यसमिति बैठक बसेको थियो । बैठकले आज बस्ने संसदीय दलको बैठकको एजेण्डा तय गरेको छ । कांग्रेसले संसद् चलेकै समयमा सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको विषयमा पनि पार्टीको आधिकारिक धारणा तय गर्ने भएको छ ।
स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेसपा अध्यक्ष बाबुराम भट्टराई प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा नभएको निष्कर्षमा पुगेका छन् । कांग्रेस पनि सन्तुष्ट छैन । स्रोतका अनुसार एमाले र कांग्रेसका नेताबीच सघन छलफल भइरहेको छ । एक साताभित्र यसबारे धेरै कुरा खुल्ने स्रोतले बतायो ।