शनिबार रातिदेखि देशभर फेरि भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि पुन: देशभर भीषण वर्षा हुने प्रक्षेपण गरेकाे छ । शुक्रबार तीन दिनकाे बुलेटिन सार्वजनिक गर्दै उसले आगामी केही दिनसम्म मनसुनकाे न्यूनचापीय रेखा नेपाल नजिक सर्ने सम्भावना रहेकाे जनाएकाे छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ।

यसको प्रभावले शनिबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना छ।

सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *