प्रचण्डको अभिव्यक्तिलाई लिएर कांग्रेस बैठकमा शेखरको आपत्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेताहरूले आपत्ति जनाएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी कांग्रेस दलको बैठकमा नेता शेखर कोइरालाले आदिवासी दिवसको सन्दर्भमा भएको कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीलाई भोट दिए जातीय राज्य दिने भनेर उत्तेजित अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

प्रधानमन्त्रीको हैसियतमा दिनै नमिल्ने अभिव्यक्ति दिएर हिँडिरहेको भन्दै कोइरालाले आलोचना गरे । उनले गठबन्धन सरकार भएकाले प्रधानमन्त्री र मन्त्रीहरूलाई कांग्रेसले सजग गराउनुपर्ने बताए । ‘आदिवासी दिवसको सन्दर्भमा प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भन्नुभयो । उहाँले पार्टीको अध्यक्षका विषयमा त्यो भनेर हिँड्न सक्नुहोला, त्यो उहाँको पार्टीको कुरा हुन सक्ला,’ नेता कोइरालाले भने, ‘तर उहाँले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नुहुँदैन । देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, यो विषयमा कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’

नेता कोइरालाले सरकारले गरेका गलत कामको अपजसको भारी कांग्रेसले बोक्न नसक्ने बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरूले गलत काम गर्दै गर्दा सरकारमा कांग्रेसका तर्फबाट रहेका मन्त्रीहरूले अब्जेक्सन गर्न सक्नुपर्ने बताए । ‘म हाम्रो दलबाट सरकारमा जानुभएका मन्त्रीहरुको कार्यकालको कुरा गर्न चाहदिनँ । अहिले नै धेरै केही भइहाल्ने कुरा छैन । तर मन्त्रीहरुले एउटा कुराचाहिँ ख्याल गरिदिनुहोला कि अब सरकारले गरेका गलत कामको अपजसको भारी हामीले लिने कुरा हुँदैन ।

तपाईंहरूले ल्यारक्याल लामाजस्ता व्यक्तिहरुलाई नियुक्ति गर्दा अब्जेक्सन गर्नुपर्थ्यो, तपाईंहरूले नबोल्दा पार्टीको छवि बिग्रिरहेको छ,’ कोइरालाले भने । कांग्रेस संसदीय दलको बैठक जारी छ । अहिले विभिन्न सांसदले आफ्नो धारणा राखिरहेका छन् । दलका नेता शेरबहादुर देउवाले समसामयिक राजनीतिबारे निर्णय लिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका छन् । शुक्रबारदेखि दलको बैठक जारी छ । कांग्रेस सांसदहरूले सरकारको कामको चर्को आलोचना गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *