रोनाल्डो प्रेरित अल नासरले जित्यो अरब च्याम्पियन्स कपको उपाधि

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको उच्चस्तरीय प्रदर्शनमा साउदी क्लब अल नासरले अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । साउदी अरेबियाको रियादस्थित किंग फहद स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दै पहिलो पटक उपाधि हात पारेको हो ।

१० खेलाडीमा समेटिएको अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलले गरेको एक मात्र गोल जितका लागि पर्याप्त हुन सकेन । ५१ औँ मिनेटमा माइकलले गोल गरेपछि अल हिलालले सुरुवाती अग्रता लिएको थियो ।
७१औँ मिनेटमा अल नासर १० खेलाडीमा समेटिएको थियो । अब्दुल्लाह अल एम्रीलाई रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु पर्‍यो । ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए ।

उनले सुल्तान अल घनामको पासमा गोल गरे । ७८औँ मिनेटमा अल नासरका नवाफ बोउसेललाई पनि पिच बाहिरै रातो कार्ड देखाइयो । त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पुनरागमन जितसहित उपाधि दिलाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *