ललिता निवास जग्गा प्रकरण छानबिन होस् ः माधव नेपाल
काठमाण्डौं । युरोप भ्रमण गरी सोमबार स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरण छानबिनमा आफ्नो सहयोगी भूमिका रहने बताएका छन्। आफूले ललिता निवास जग्गा प्रकरण छानबिनमा सहयोग गर्ने बताए। ‘बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्। त्यसमा मेरो तर्फबाट गर्नुपर्ने सहयोग हो, मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ । प्रधानमन्त्री हुँदा आफूले असल मनसायले नेपाल सरकारको जग्गा, नेपाल सरकारको नाममा हुनुपर्दछ भनेर केही काम गरिएको उनको भनाइ छ।
‘कागजपत्र छैन भने पनि स्रेस्ता कायम गर्ने भनेर काम गरेको हुँ, उनले भने, ‘त्यो काम गर्दा सरकारी जग्गा र अन्य जग्गा कानूनसम्मत ढंगले छुट्याएर गर्ने भनिएको थियो। बाटोका सन्दर्भमा कसैलाई मुआब्जा र सट्टा भर्ना नगरिकन ७ रोपनीभन्दा बढी जग्गा सरकारको नाममा ल्याइएको थियो। तर त्यहाँ मोहीका जग्गा पनि आएको कुरा आएको छ। आफू प्रधानमन्त्री हुँदा ललिता निवासमा झमेलावाला जग्गा भनेर कसैले पनि नभनेको उनले दाबी गरेका छन्। उनले निर्दोष कोही नपर्ने र दोषी कोही नछुट्ने गरी छानबिन गर्नुपर्ने पनि बताए।
आफूले केही अपराध र भ्रष्टाचार नगरेको उनले बताएका छन्। ‘मैले केही बिराएको छैन, बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन, उनले भने, ‘कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन। म आत्तिएको छैन। तर अलिअलि चित्त दुखेको छ। देशका लागि केही गर्छु भनेको हो। ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो। अदालतले आदेश दिएको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको पनि आलोचना गरेका थिए।