टोयटाको गाडी बेच्ने इस्ट लिंक मोटर्सको व्यापार बढ्यो
काठमाडौं । नेपालमा टोयटाको आधिकारिक बिक्रेता रहेको युनाइटेड टेडर्स सिन्डिकेट प्रालिसँगको सम्झौतामा रहेर बागमती प्रदेशमा टोयटा ब्राण्डका प्यासेन्जर गाडीहरु बेच्ने इस्टलिंक मोटर्स प्रालिको व्यापारमा वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०२१ मा गरेको व्यापारको तुलनामा आर्थिक वर्ष २०२२ मा झण्डै दोब्बर व्यापार गरेको छ । आव २०२१ मा कम्पनीले १ अर्ब ३६ करोड ४० लाखको कारोबार गरेको थियो । आव २०२२ मा प्रालिको कारोबार २ अर्ब ६९ करोड ४० लाख पुगेको छ । आव २०२० मा भने कम्पनीको व्यापार १ अर्ब ७ करोड ८० लाख रुपैयाँको थियो ।
आर्थिक वर्ष २०२३ को ९ महिनामा भने कम्पनीले १ अर्ब ५० करोड १० लाखको कारोबार गरेको छ । सन् २००७ मा सुरु भएको इस्ट लिंक मोटर्स बागमती प्रदेशमा टोयटा ब्राण्डका प्यासेन्जर गाडीहरु बेच्ने आधिकारिक बिक्रेता हो। कम्पनीको स्वामित्व नारायणप्रसाद पौडेल, राजेन्द्रविक्रम पौडेल र डा। धनञ्जय रेग्मीसँग रहेको छ । कम्पनीले काठमाडौ उपत्यकाभित्र लैनचौर, गैरीधारा र कुपण्डोलमा तीनवटा आफ्नै स्वरुमहरु राखेको छ भने कार्यालय लैनचौरमा रहेको छ ।
कम्पनीको व्यापारमा वृद्धि भए पनि मार्जिनमा भने कमी आएको छ । २०२० मा ३.४ प्रतिशत रहेको मार्जिन २०२१ मा २.४ प्रतिशत र २०२२ मा २.१ प्रतिशतमा झरेको छ । २०२३ को ९ महिनामा कम्पनीको मार्जिक १.९ प्रतिशत रहेको छ । कम्पनीले ‘सर्ट–टर्म लोन’ सुविधाका लागि रेटिङ एजेन्सीबाट ९६ अर्ब ८० करोडको रेटिङ पाएको छ । एजेन्सीले कम्पनीलाई ‘ए फोर’ रेटिङ दिएको छ ।