प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गर्छु, भोलि सदन खुल्छ ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसद्को अवरोध हट्ने बताएका छन् । प्रधानमन्त्री दाहालले संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सञ्चालन हुनेमा आशावादी रहेको उनले उल्लेख गरे । हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरुलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ, भोलि सदन खुल्छ । प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।