स्पेनले जित्यो महिला विश्वकपको उपाधि


काठमाडौं ।स्पेनले फाइनलमा इङ्ल्यान्डविरुद्ध १–० को जित निकाल्दै फिफा महिला विश्वकपको उपाधि जितेको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन कप्तान ओल्गा कार्मोनाले गरेको गोल निर्णायक बन्यो । कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फर्स्ट टच’ गोल गरेकी थिइन् । यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको छ । विश्वकपको तेस्रो सहभागितामै च्याम्पियन बनेको स्पेन जर्मनीपछि पुरुष र महिला दुवैतर्फ उपाधि जित्ने दोस्रो टिम बन्यो ।

खेलको ७०औँ मिनेटमा स्पेनले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । तर, जेनिफर हर्मोन्सोको प्रहार इङ्ल्यान्डकी गोलकिपरले सहजै बचाएपछि स्पेनले सुनौलो अवसर खेर फालेको थियो । स्पेनले विश्वकपमा ‘डेब्यू’ गरेको तेस्रो सहभागितामै च्याम्पियन बनेको हो । सन् २०१५ को संस्करणमा डेब्यू गरेको स्पेनको यो तेस्रो सहभागिता हो । गत संस्करणमा प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो । स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो । यस्तै, अन्तिम–८ मा नेदरल्यान्ड्सको चुनौती २–१ ले पन्छाएको स्पेनले सेमिफाइनलमा विश्वकपको सदाबहार दाबेदार स्विडेनलाई २–१ ले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *