कोशी प्रदेशका मुख्यमन्त्री थापाले यसरी सहजै पाउँदैछन् विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ। सोमबारको बैठकको कार्यसूची तयार गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन्। उनी सोमबार बिहानै विरामी भएको बहाना बनाएर काठमाडौं आइपुगेकी छन् । एमाले र राप्रपाका ज्येष्ठ सदस्यले अनुपस्थित हुने सूचना दर्ता गरिसकेको अवस्थामा सत्तापक्षले नै बैठकको अध्यक्षता गर्नुपर्ने परिस्थिति निर्माण हुँदै गएको छ ।

सत्ता पक्षकै सांसदलाई प्रदेश सभाको अध्यक्षता गर्न बाध्य बनाउन रणनीतिअनुसार एमालेले यस्तो रणनीति अख्तियार गरेको हो । प्रदेश सभामा सत्तापक्षका ४७ र विपक्षका ४६ जना छन् । एमालेका दुईजना र राप्रपाका एकजना बिदामा बस्नेवित्तिकै ४३ जना हुन्छ । त्यसैले आजको बैठकमा विपक्षी दलका तीनजना सांसद अनुपस्थित भएमा मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाउने अवस्था पनि छ ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधनसहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ। सोही नियमअनुसार कोशी प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी, राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादीका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन्। राप्रपाका विष्ट र एमालेकी सुब्बा आइतबारदेखि घरायसी काम परेको भन्दै बिदामा बसेका छन् ।

अध्यक्ष मण्डलमा रहेका इस्राइल मन्सुरी गीताभन्दा ज्येष्ठ सदस्य हुन्। प्रदेश सभाका ज्येष्ठ सदस्य रोहितबहादुर कार्की, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत र ज्ञानेन्द्र सुवेदीले बैठकमा उपस्थित नहुने सूचना आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

सांसद किशोरचन्द्र दुलाल छोराको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका गएका छन् भने अर्का ज्येष्ठ सदस्य गोपालबहादुर विश्वकर्मा उपचारका क्रममा छन् । ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दा कांग्रेसका अमृतकुमार अर्यालले गर्नुपर्ने हुन्छ । उनले अध्यक्षता गर्दा मुख्यमन्त्री थापाले विश्वासको मत लिन असहज देखिन्छ । तर पनि विपक्षी दलका सांसदमध्ये धेरैजना आजको बैठकमा उपस्थित नहुने सम्भावना रहेको बताइन्छ । यदि राप्रपाले दाबी गरेअनुसार सभामुख उसलाई दिएमा पनि मुख्यमन्त्री थापाले सहजै विश्वासको मत लिन सक्ने अवस्था पनि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *