रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ ।
अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिका सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।
बैठकमा पार्टीले राखेका संकल्प प्रस्ताव, संसद्को पछिल्लो गतिविधि लगायत विषयमा पनि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो । समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने परियारले बताए ।