सञ्चय कोषले सञ्चयकर्ताका पति वा पत्नीलाई स्वास्थ्योपचार खर्च दिने
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका पति वा पत्नी समेतलाई स्वास्थ्योपचार सुविधामा समेट्न लागेको छ । कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी सञ्चयकर्ताले पाउँदै आएको स्वास्थ्योपचार सुविधालाई कोषको ३१ भदौको वार्षिकउत्सव समारोहबाट विस्तार गर्ने बताउँछन् । ‘त्यसका लागि कार्यविधि बन्नुपर्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यले घोषणा गरेअनुसार सञ्चयकर्ताको दम्पतीलाई नै स्वास्थ्योपचार सुविधा उपलब्ध गराउन तयारी गरिरहेका छौं । चालु आर्थिक वर्षको बजेटमा कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने उल्लेख थियो । हाल साधारण बिरामी भएमा सञ्चयकर्ताले अस्पतालमा भएको खर्चका आधारमा १ लाख र घातक रोग लागेमा १० लाख रुपैयाँसम्म यो योजनाबाट पाउँछन् । कोषले योजना विस्तारको घोषणा परेपछि सञ्चयकर्ताको श्रीमान वा श्रीमतीले समेत यस्तो योजनाबाट लाभ उठाउन पाउनेछन् । ‘कहिलेदेखि कुन–कुन शर्तमा कसरी स्वास्थ्योपचार योजनामा सञ्चयकर्ताको पति वा पत्नीले पनि सुविधा पाउँछन् भन्ने तय हुन बाँकी छ,’ प्रवक्ता सुवेदीले भने । २०७६ अघि साविकमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत सञ्चालन गरिएको ‘सञ्चयकर्ता औषधोपचार तथा घातक रोग योजना’लाई सञ्चयकर्ता स्वास्थोपचार योजना’मा रुपान्तरण गरेर कोषले सञ्चालन गरिरहेको छ । अहिले अस्पताल भर्ना भएर स्वास्थोपचार खर्च गर्दा कोषबाटै शोधभर्ना गर्न सकिने व्यवस्था छ ।
कोषले विगतमा सञ्चालन गरेको सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम २०७० र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना २०७५ को निरन्तरताका रुपमा यो योजना सञ्चालन गरिरहेको छ । सरकारले तोकिदिए बमोजिम घात रोगमा हृदयघात, मृगौला फेल, क्यान्सर, अल्जाइमर, पार्किन्सन, गम्भीर हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, लिभर ड्यामेज, प्यारालाइसिस, ब्रेन ह्यामोरेज, लङ्ग्स ट्रान्सप्लान्ट सहित १२ वटा रोग छन् । कोषमा कम्तीमा ६ महिना नियमित रुपमा सञ्चय कोष कट्टी रकम जम्मा गरी रहेका सञ्चयकर्तालाई यो योजनाले समेटेको छ । बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा कोषको नियमित सञ्चयकर्ता वा उमेर–हद वा पदावधिका कारण अवकास भएको ६ वर्षसम्म कोषबाट रकम भुक्तानी नलिएका सञ्चयकर्ताले यो योजनाबाट लाभ उठाउँदै आएका छन् । नेपाल सरकारबाट सञ्चालन अनुमति पाएका देशभित्र सञ्चालित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र वा यस्तै प्रकारका अन्य स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गरेको खर्चको दाबी गर्न पाइन्छ । नेपालमा उपचार हुन नसक्ने भएका कारण सम्बन्धित चिकित्सकको सिफारिसमा विदेशी अस्पतालमा उपचार गराइएको भए पनि त्यस्तो खर्च दाबी गर्न पाइने नियम छ । चिकित्सकको निजी क्लिनिकमा उपचार गरेको खर्च भने दाबी गर्न नपाइने नियम छ ।
हाल बिरामी सञ्चयकर्ताले अस्पताल भर्ना भएर उपचार गराउँदा एक आर्थिक वर्षमा बढीमा दुई पटक गरी अधिकतम १ लाख रुपैयाँसम्म शोधभर्ना पाउँछन् । एक वर्षमा अपरेशन शुल्कबापत ४० हजार र रोग परीक्षण शुल्क, औषधि तथा उपकरण खरिद खर्च तथा अस्पताल वेड शुल्क बापत वर्षमा ३०।३० हजार रुपैयाँ पाउँछन् । घातक रोगको उपचारमा रोग पहिचानको क्रममा भएको खर्चमा बढीमा १ लाखसम्म, अस्पताल भर्ना भएर गरेको उपचार खर्चमा बढीमा ७ लाखसम्म र अस्पतालबाट डिस्चार्ज भएपछि फलोअपका क्रममा बढीमा २ लाखसम्म सोधभर्ना हुने गरेको छ । मृगौला र क्यान्सरका बिरामीले भने फलोअप (केमोथेरापी र डाइलासिस) का लागि ९ लाख रुपैयाँसम्म पाउँछन् । सञ्चयकर्ताको मृत्यु भएमा मृत्यु हुनु भन्दाअघि भएको उपचारको खर्च हकवालाले दावी गर्न सक्ने व्यवस्था समेत छ । कोषले हालको व्यवस्थाहरुलाई कायम राखेर सञ्चयकर्ताको पति वा पन्तीलाई कस्तो सुविधा दिने भन्ने तय गर्न कार्यविधि बनाइरहेको जनाउको छ । हाल कोषमा २७ हजार ८ सय ६२ वटा कार्यालयका ५ लाख ९८ हजार सञ्चयकर्ताहरु आवद्ध छन् ।