फेसबुकले बन्द गर्दै मेसेन्जर लाइट
काठमाडौं । मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ ।
गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको उनीहरुका लागि समेत सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्नेछ भने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्नेछ । फेसबुकले सन् २०१६ मा मेसेन्जर लाइट एप ल्याएको थियो । यो एप प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि थियो । डिभाइसको स्टोरेज कम ओगट्ने तथा डाटा खपत पनि कम गर्ने यो एप आइओएसमा भने सन् २०२० मै बन्द गरिएको थियो ।
यसका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा थिए भने दोश्रोमा ब्राजिल र तेश्रोमा इण्डोनेसिया थियो । मेटाले मेसेन्जर लाइटमा विभिन्न खालका परिवर्तन गरेको छ । आगामी सेप्टेम्बर २८ देखि यो मेसेन्जर एपले एसएमएस सपोर्ट नगर्ने बताइएको छ । अर्थात् सेप्टेम्बर २८ देखि मेसेन्जर लाइटबाट मेसेज पठाउन तथा प्राप्त गर्न सकिनेछैन ।
एजेन्सी